नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राजस्व अनुसन्धान विभाग

हरिहरभवन, ललितपुर

" निजामती कर्मचारीको प्रतिवद्धता: पारदर्शिता र चुस्तता "

महानिर्देशकको अपिल तथा शुभकामना

रा. अ. वि.

महानिर्देशकको अपिल तथा शुभकामना

 

आर्थिक अपराध र राजस्व चुहावटका क्षेत्रहरुको पहिचान गरी गम्भीर राजस्व जोखिम देखिएका क्षेत्रहरुमा निरन्तर निगरानी बढाई प्राप्‍त सूचनाको सत्यताको आधारमा प्रभावकारी एवं नतिजामूलक अनुसन्धान गरी बढ्दो अनौपचारिक अर्थतन्त्रको आकार घटाउँदै राजस्व संकलनको आधार बढाउँदै स्वस्थ, पारदर्शी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न आन्तरिक वित्त प्रणालीलाई सुदृढ गरी संघीय वित्त प्रणालीलाई सवलीकरण गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, बजार प्रणालीमा देखिएका आर्थिक अपराधजन्य राजस्व चुहावट सम्वद्ध कार्यलाई कुशलतापूर्वक नियन्त्रण र व्यवस्थापन गर्ने तथा स्वच्छ र नैतिकतामा आधारित राजस्व सुशासन स्थापनामा सहयोगी भूमिका निर्वाह गर्नु यस विभागको मूल उद्देश्य रहेको छ । नेपालको राजस्व प्रणालीमा देखिएका राजस्व चुहावटका क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण गरी राजस्व संकलन कार्यमा सघाउ पुर्‍याउन यस विभागले राजस्व जोखिमका क्षेत्रमा र विदेशी विनिमय अपचलन सम्वन्धी विषयमा अनुसन्धान कार्य गर्दै आएको छ । विगतमा राजस्व प्रशासनमा गरिएका सुधारका बाबजूद पनि मुलुकको अनौपचारिक अर्थतन्त्रको आयतन अपेक्षित रुपमा घट्न सकेको छैन । विद्यमान अनौपचारिक अर्थतन्त्रको बढ्दो आयतनलाई घटाई राजस्व संकलनको आधार सबल तथा सुदृढ बनाउन विभागले प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक रणनीति अवलम्वन गरेको छ । भन्सार नाकाबाट मालवस्तु निकासी/पैठारी हुँदा सही घोषणा (Right Declaration) नहुने र आन्तरिक बजारमा प्रभावकारी रुपमा बिल बिजक लिने दिने (Billing) पद्धतिको विकास हुन नसक्दा राजस्व अपेक्षित रुपमा संकलन हुन नसकेको अवस्था विद्यमान छ । राष्‍ट्र विकासको लागि आवस्यक पर्ने आन्तरिक स्रोतको व्यवस्थापनका लागि राजस्व अभिवृदि गर्नुपर्ने भएकोले सबै निकासी/पैठारीकर्ताले भन्सार विन्दुमा मालवस्तुको सही घोषणा (Right Declaration) गर्नु हुन र सबै क्रेता र बिक्रेताले आन्तरिक बजारमा कारोवार मूल्यको बिल बिजक लिने दिने, नियमित रुपमा कर दाखिला गरी राजस्व संकलन कार्यमा सहयोग गर्नुहुन सम्वन्धित सबैमा अनुरोध  छ । राजस्व चुहावटजन्य क्रियाकलाप र विदेशी विनिमयको अवैध कारोवारलाई नियन्त्रण गरी स्वस्थ, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि तपाई जो कसैले प्राप्‍त गरेको राजस्व चुहावटजन्य सूचना यस विभागको Toll Free No. 1660-01-55000 मा वा यस विभागको वेभसाईट www.dri.gov.np मार्फत online लिखित रुपमा गुनासो/सूचना दिनुहुन वा महानिर्देशकको मोवाइलमा SMS संप्रेषित गर्न सबै देशप्रेमी दाजुभाइ, दिदीबहिनी, नागरिक समाज एवं सरकारी तथा गैर सरकारी संघ संस्थाप्रति हार्दिक अनुरोध गर्दछु ।

सूचना दिने व्यक्ति वा संघ संस्थाको नाम ठेगाना गोप्य राखी सुराकी परिचालन खर्च मापदण्ड बमोजिम उचित पुरस्कार समेत प्रदान गरिने भएकोले राजस्व छली गर्ने/चोरी निकासी पैठारी गर्ने वा विदेशी विनिमय अपचलन वा हुण्डी गरी वा अन्य कुनै प्रक्रिया वा प्रविधिबाट राजस्व छली कार्य गर्ने वा मतियार भई सहयोग गर्नेको सूचना यस विभागमा पठाउनु भई राजस्व संकलनको फराकिलो आधार बनाउन सहयोग गर्न हार्दिक अपिल गर्दछु ।

साथै, विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहने आदरणीय दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 

दीर्घराज मैनाली

महानिर्देशक

                 सम्पर्क नम्वरः ९८५१०५४५४४